May 29, 2009

यो त अलि हजम भएन नि!

# अपडेट: मेरा साथीहरु र मेरो ब्लगको पाठक मित्रहरुको सहयोगले गर्दा अहिले 'मेरो संसार' ब्लगमा रहेको यो गल्ती सच्चिएको छ।
त्यस सहयोगको लागि तपाईंहरु सबैलाई म धेरै धेरै धन्यवाद टक्रयाउन चाहन्छु।

****************************************************************************

गत मे ९ तारिख मैले 'यदि...' भन्ने शीर्षकमा अमेरिकी राष्ट्रपति ओबामालाई ढाका टोपी र लवेदा पहिराइदिएको थिएँ र यो कुरा मेरो ब्लग पढ्नु हुने सम्पूर्ण पाठक मित्रहरुलाई राम्ररी थाहा भएको कुरा हो। तर आज जब मलाई मेरो मित्र जेम्सले मैले सिँगारेको ओबामालाई यहाँ MySansar.com ब्लगमा पनि रहेछ भनेर देखाएपछि , एकैछिन त म ओहो! कसरी भनेर छक्क परें। तर के लेखेको रहेछ त्यो तस्वीरसँग भनेर पढेको त, त्यो त चलाख राजु पन्थीजीले पो गर्नु भएको हो रे! अब कसैले आफ्नो कुरा मेरो हो भनेर भनिदियो भने कस्तो लाग्छ होला, मलाई अहिले त्यस्तै भइरहेको छ। केही नभए नि यो काम फलानोको हो, मैले संकलन गरेर बुझाएको हुँँ भनेर भनेको भए पनि हुन्थ्यो नि, त्यो पनि छैन बा!

मलाई पुरा विश्वास छ कि यो मैले नै काटाकुटी गरेको तस्वीर हो। त्यसैले मैले उक्त 'मेरो संसार' ब्लगमा आफ्नो हो भनी प्रतिकृया पनि कोरेको थिएँ तर खै अहिले सम्म प्रकाशित नगरेको हो कि, के भएको हो थाहा छैन।

अब नराम्रो र धेरै थोरै भनेपनि रिस त उठ्ने नै भयो, के गर्ने होला, कसो गर्ने होला भनेर सोच्दै पनि छु, छक्क पर्दै पनि छु। तपाईंहरु भने के भन्नु हुन्छ? बरु मिल्छ भने यसो 'मेरो संसार' मा केही भनिदिनु हुन्छ कि। धन्यवाद!

May 09, 2009

यदि...




image: ghotane_d


May 02, 2009

मच्चिएको महामारी...


दुई तीन दिन भयो, मलाई सन्चो नभएको। यो मेरो चुहिरहने नाकलाई सम्हाल्न बेला बेलामा निकै गाह्रो भएको छ। साथीहरु मलाई Swine flu लाग्यो भन्दै जिस्काउँदै, देखि तर्किन खोज्छन। ब्लग लेख्छु भन्दा फुर्सद थिएन, अब बिदामा लेख्छु भन्दा सन्चो भएन। अल्छीलाई बहाना नै भयो। तर मलाई सामान्य रुघा लागेपनि अहिलेको यो महामारीको समयमा एकदमै होसियार भएको छु। विश्व स्वास्थ्य संगठनको अपडेट पछ्याउँदै समाचारहरुमा पनि यही सुँगुरे रुघा H1N1 Type Aको चर्चा खोजी रहन्छु

मेक्सिकोबाट सुरु भएको यो महामारी अहिले अमेरिकी मुलुकहरु र युरोपेली मुलुकहरुमा फैलिसकेको छ र हिजोबाट एसिया पनि भित्रिएको जानकारी आएको छ। सुंगुरको मासु खाएर होइन तर रोगीको सम्पर्कमा आएमा सर्ने भनिने यो महामारीले पहिले पनि चर्चा पाएको रहेछ तर यसपाली भने सुंगुर, चरा र मान्छेलाई लाग्ने तीन थरीको फ्लु भाइरसको मिश्रण भएकोले यो पहिलेको भन्दा निकै फरक छ। त्यही कारणले गर्दा मान्छेको साधारण रुघासँग लड्न सक्ने शारीरिक क्षमता पनि यो नौलो किसिमको रुघाको लागि कमजोर हुन गएको हो।

अहिले म माओ मुलुकमा नै छु। यहाँ फैलिएको SARS र चरी फ्लुको महामारी त तपाईंहरुलाई राम्ररी याद होला। धन्न यो H1N1 भने यहाँँ बाट चर्किएन, नत्र भने अहिले स्थिति नै धेरै गाह्रो हुन्थ्यो विशेष गरेर यहाँंको जनसंख्या र अहिले चलिरहेको यो मे महिनाको ३-दिन हुने श्रमिक बिदामा घुम्नेहरुको घुइँचोबाट झन् धेरैलाई सर्ने र नियन्त्रण गर्न अप्ठ्यारो हुने थियो जस्तो मलाई लाग्दछ। तर अहिले पनि हामी सुरक्षित छौं भनेर भन्न भने मिल्दैन। त्यसैले मेरो बिचारमा हामीहरुले यस फ्लु माथि नजर गरिराख्नु जरुरी छ र साथ-साथै आफ्नो स्वास्थ्यको ख्याल पनि। तपाईंहरु आफ्नो स्वास्थ्यको राम्रोसँग हेरचाह गर्नुहोस् होला है।
_ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _

यो महामारी कता फैलिरहेको छ, यसबेला के गर्नु पर्छ, कस्तो सतर्कता अप्नाउनु पर्छ, के गर्नु हुँदैन भन्ने बिषयमा जानकारीको लागि लिङ्कहरु राखिदिएको छु। हेर्नु होला र यहाँ मैले नदिएको र तपाईंहरुलाई थाहा भएको जानकारी प्रतिकृयामा कृपया कोरिदिनु होला। धन्यवाद!

image: ghotane_d

April 01, 2009

अब कति मूर्ख बन्ने?


हुन संसारभरि आजको दिन रमाइलो ठट्टाको लागि 'April Fool's Day' मनाउने गरिन्छ। गएको पालो यसै दिन पारेर मूर्खहरुको बारेमा लेखेको थिएँ तर यसपालि भने मलाई त्यो मुड नै छैन होस् पनि कसरी; वर्षभरि नै मूर्ख भएपछि यो जाबो एक दिन के नै रमाइलो अब कसरी मूर्ख भयो होला वर्षभरि भन्नु हुन्छ भने कथा लामो यो कथामा तपाईहरु पनि पर्नुहुन्छ। तर छोटकरीमा भन्नु पर्दा कुरा हाम्रो नेपाल हामी नेपालीहरुको हो।



राजतन्त्रको जात्राले वाक्क परेको बेला गणतन्त्रको स्वाद चाख्ने मौका मिल्यो। के के नै होला भनेर आशा गरेको, त्यो अर्को जात्रा पनि चाखियो। यो जात्रामा के के हुँदैछ, यो प्रश्नको उत्तर विदेशिएको नेपालीलाई भन्दा स्वदेशमा पेलिएको नेपालीलाई नै राम्ररी थाहा छ।

यो, त्यो ओहो! होला भनेर उज्ज्वल स्वप्न देखेका नेपालीहरु अहिले लोडसेडिङको अन्धकारमा बस्नु पर्दा कस्तो अनुभव गर्दैछन होला? सबै नेपालीहरु एकजुट भएर देशको बिकास निर्माण हुन्छ होला भन्दा पहाड मधेश भन्दै देशमा भाँडभैलो हुँदा तपाई हामीलाई कस्तो लाग्यो होला? चक्काजाम, हड़ताल र बन्द पहिले देखि नै चलिआएको परम्परा, रोकिएको कस्तो हुन्थ्यो होला? सरकारमा रहेका वरिष्ठहरु विदेश सवारी गर्छन तर के हेरेर, के देखेर फर्किन्छन् कुन्नि, त्यही छाप नाम मात्र फेर्दा हामी आशावादीहरुलाई कस्तो लाग्छ होला?

भारतले हाम्रो नेपालको सिमाना मिचेको मिचे कै, भएन भनेर भारतीय सिनेमाले पनि प्याच्च जे पाए त्यही भन्दा हामी नेपालीलाई कस्तो लाग्छ होला? यति मात्र कहाँ हो हाम्रै सम्मानीय उप-राष्ट्रपतिज्यूले शपथ ग्रहण गरिबक्सिदा हिन्दीमा नै भुकिदिनु हुँदा हामी नेपालीहरुलाई कस्तो भएको थियो, त्यो हामीलाई मात्र थाहा छ।

कुरा यति मात्र होइन, तर कुरा गरे कुराकै दु: छ। असुन्तुष्ट छु दु:खी छु त्यही माथि मलाई लाग्द्छ कि देशमा जे जति परिवर्तन आएपनि आएपनि देश हाँक्ने हाम्रा मूर्ख महामानवहरुले हरेक दिन, हरेक पल हामीलाई धमिलो आश्वासन दिएर मूर्ख नै बनाइरहेका छन्। आशा देखाइ तान्छ, निराशा तिर घचेटिदिन्छ।

अब उटा राष्ट्र त्यस राष्ट्रको नागरिकहरुको सपना आशामाथि यस्तो ख्याल ठट्टा गरे जसरी मूर्खलाई जस्तो व्यवहार गर्छन् भन्दैमा हामी मूर्ख हुनुपर्छ ? हुन त धेरै पटक मूर्ख भएछु, अब कति मूर्ख हुनुफेरि राष्ट्र-चालक सहकर्मीहरु महामूर्ख हुन् भन्दैमा हामीहरु उँहाहरुको शरणमा जानुपर्ने पनि आवश्यक छैन् नि, कि कसो?


January 26, 2009

Happy Níu (牛) Year




image:  chooyutshing